एसिसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता


काठमाडाैं- एसिसी यू–१९ प्रिमियर कपको उपाधि घरेलु टोली यूएईले जितेको छ । उसले नेपाललाई २८ रनलाई पराजित गर्दै ट्रफी जितेको हो । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २० रनमा अलआउट भयो ।

प्रतियोगिताभर सानदार प्रदर्शन गरेको नेपाल फाइनलमा भने राम्रो गर्न सकेन । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले २५/२५ तथा वंश क्षेत्रीले ११ रन बनाए ।

यूएईका लागि बलिङमा युग जय शर्मा र अली असगर शम्सले तीन/तीन, उद्दिश सुरी र नुरउल्लाह अयोबीले दुई/दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो । उसका लागि अहमद खुदादादले अर्धशतकीय पारी खेले । १ सय २६ बलको सामना गरेका ६ चौकाको मद्दतमा ७१ रनको पारी खेलेका हुन् ।

त्यस्तै, नुरउल्लाह अयोबीले २६ र अयान मिस्बाहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङमा दयानन्द मण्डलले घातक बलिङ गरे । उनले ६.५ ओभरमा दुई मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले दुई, नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए ।

प्रिमियर कपको उपाधि जित्न नसके पनि नेपालले एसिया कपमा भने स्थान बनाएको छ ।

प्रतिक्रिया