लुम्बिनी लायन्सका विकेटकिपरलाई क्यानको कारबाही


काठमाडौं –  लुम्बिनी लायन्सका विकेटकिपर निरोशन डिकवेलालाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ।

शनिबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचको खेलमा निरोशनले अम्पायरको निर्णयविरुद्ध असहमति जनाएका थिए। पोखराका खेलाडीलाई नटआउट दिँदा उनले ग्लोब्स देखाउँदै असहमति देखाएका थिए।

क्यानले यसलाई आचारसंहिता उल्लंघन (लेभल–१, धारा २.८) मान्दै उनलाई एक डिमेरिट प्वाइन्ट र खेल शुल्कको ५ प्रतिशत जरिवाना गरेको छ। निरोशनले आफ्नो गल्ती स्वीकार गरेका कारण थप छानबिन आवश्यक नरहेको क्यानले जनाएको छ।

सो खेलमा लुम्बिनी लायन्सले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो।

प्रतिक्रिया