त्रिविमा सहपरीक्षा नियन्त्रक नियुक्तिमा झूटो विवरण, ४ प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं-  त्रिभुवन विश्वविद्यालयमा सहपरीक्षा नियन्त्रक नियुक्ति प्रक्रियामा झुटो विवरण पेश गरेको आरोपमा चार जना प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा अनुसन्धान सुरु गरेको हो।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिका संयोजक डा. जया लक्ष्मी प्रधान, सदस्य डा. मोतिलाल शर्मा, डा. मेधराज पोखरेल र झुटो विवरण पेश गर्ने सहप्राध्यापक डिल्लीराम प्रसाईं विरुद्ध मुद्दा दायर गरेको हो।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकाल्दा छ जनाको आवेदन परेको थियो। छनौटका लागि प्रधानको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।

प्रमाण अनुसार डिल्लीराम प्रसाईंले अझै विद्यावारिधि नलिईकन “डा.” लेखेर र पीएचडी सम्पन्न भनी प्रमाणपत्र पेश गरी प्रतिस्पर्धामा लाभ लिएका थिए। उनको विद्यावारिधि अन्तिम मौखिक परीक्षा २७ भदौमा सम्पन्न भएको र अन्ततः २९ माघमा मात्र उपाधि प्राप्त भएको पुष्टि भएको छ।

अख्तियारले प्रसाईंले पदको लाभ लिन झूटो विवरण पेश गरेको र छनौट समितिका अन्य तीन सदस्यले सो विवरण स्वीकार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया