इमरान खानको मृत्यु अफवाह फैलिँदा रावलपिन्डी जेलबाहिर समर्थकहरू धर्नामा


इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको अदियाला जेलमा रहेका छन्। उनले बारम्बार जेल प्रशासनविरुद्ध दुर्व्यवहार र उत्पीडनको उजुरी दिएका छन्।

तर, पछिल्लो समय सामाजिक सञ्जालमा उनका मृत्युको अफवाह तीव्र गतिमा फैलिएको छ। उनका तीन दिदी–बहिनी नोरीन, अलीमा र उज्मा जेलभित्र भेट्न अनुमति मागिरहेका छन्, तर हालसम्म अनुमति दिइएको छैन। उनीहरूले जेलमा इमरानमाथि क्रूरतापूर्वक आक्रमण गरिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको हत्याको खबरको अहिलेसम्म कुनै ठोस प्रमाण नफेला परेको इन्डिया टुडेले उल्लेख गरेको छ। अफवाह  ‘अफगानिस्तान टाइम’ नामक एक्स ह्यान्डलबाट फैलिएकाे थियो। उक्त पोस्टमा भनिएको थियो, “पाकिस्तानको विश्वासिलो स्रोतले इमरान खानको रहस्यमय रूपमा हत्या भएको पुष्टि गरेको छ र उनको शव जेलबाट बाहिर लगिएको छ।”

हत्याको अफवाहपछि बुधबार दिनभर हजारौँ समर्थक जेलबाहिर धर्ना दिएका छन्। सोशल मिडियामा #इमरानखान ट्रेन्ड भइरहेको छ र विभिन्न पोस्टहरू भाइरल भइरहेका छन्।

इमरान खानको भेटको अनुमति नपाएपछि उनका दिदी–बहिनीहरूले पञ्जाब प्रान्तका आईजीसमु उजुरी दिएका थिए। उजुरीपछि लाखौं समर्थक जेलबाहिर जम्मा भएका थिए र उनका दिदी–बहिनीहरू पनि प्रदर्शनमा सहभागी भएका छन्।

प्रतिक्रिया