
हुलदङ्गा व्यवस्थापनका लागि कीर्तिपुरमा सशस्त्रकाे विशेष गण बनाइने
काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २१५ वटा बीओपी स्थायी हुने भएका छन् ।
संगठनले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै यी कार्यालय स्थायी हुने भएका हुन् । मंसिर २ गते बसेको बैठकले सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो ।
पहाडी जिल्लामा रहेका आश्रित गुल्म स्थायी भएसँगै कानुनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पतालसमेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको सङ्ख्या ३९६ वटा पुगेको डीएसपी थापाले जानकारी दिए ।
सांगठनिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयको स्तरवृद्धि गरी नयाँ संरचना तयार गरिएको सशस्त्रले जनाएको छ । संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणको स्तरवृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन विशेष गण बनाइएको छ । यसबाट काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न थप सहजता हुनेछ । ८ सय जनाभन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दङ्गा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठूलो सङ्ख्यामा एकै पटक परिचालन गर्न सहजता हुनेछ ।
त्यस्तै, विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोगसमेतको सुरक्षा हेर्ने गरी काठमाडौं कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ । यसबाट ती निकायमा सुरक्षार्थ सोही प्रकृतिका तालिम प्राप्त सुरक्षा फौज परिचालन हुनेछन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सकको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक चिकित्सकले कमान्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधरणले समेत स्वास्थ्य सेवा पाउनेछन् ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानुन महाशाखालाई निर्देशनालयमा स्तरोन्नति गरी सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गरिएको छ । विपद् व्यवस्थापनको म्यान्डेटलाई थप प्रभावकारी बनाउन विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरवृद्धि गरी सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थपिएको छ ।
यसैगरी इन्टेलिजेन्स ब्यरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउन अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा रहने गरी दरबन्दी थप गरिएको छ । ब्युरोमा अब जुनियर अधिकृत तथा सोभन्दा माथिका जनशक्ति मात्र रहने छन् ।
यससँगै सशस्त्र प्रहरी बल नेपालमा तीनजना सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतिसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसमेतको दरबन्दी थप भएको छ ।
यसैगरी सशस्त्र प्रहरी बलका १० तालिम शिक्षालयको दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ । अब सबै शिक्षालयमा दरबन्दी सङ्ख्या एउटै हुनेछ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको चौथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिँदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारिक निवृत्तीभरण उपलब्ध गराइने व्यवस्था भएको छ । यसबाट विपद्मा खटिने सुरक्षाफौजको मनोवल उच्च हुने समेत विश्वास गरिएको थापाले बताए ।



कागजपत्र |
