
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन जेनजीको माग
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले सरकारलाई फिर्ता बोलाउन राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। बिहीबार २३ जेनजी समूहले नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न आग्रह गर्दै ज्ञापनपत्र पेश गरेका हुन्।
ज्ञापनपत्रमा समूहले भदौ २३–२४ गतेको जेनजी विद्रोहपछि बनेको सरकारले ठूला भ्रष्टाचार प्रकरणमा संलग्न व्यक्तिको कारबाही नगरेको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन नभएको र आन्दोलनमा घाइते तथा शहीद परिवारलाई न्यूनतम क्षतिपूर्ति नदिएको उल्लेख गरेको छ।
समूहले भनेको छ, “विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा केवल चुनाव मात्रै गराउने गरी दिशाहीनता देखाएको छ। त्यसैले हामी सम्बद्ध विद्रोही पक्षको माग सम्बोधन नगरेको अवस्थामा यो सरकार फिर्ता बोलाएर हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको मध्यस्थता गर्न राष्ट्रपति समक्ष निवेदन गर्दछौं।”
ज्ञापनपत्रमा सरकारको माग पूरा नगरेको खण्डमा अर्को शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि उल्लेख गरिएको छ।




कागजपत्र |
