प्रहरी परिसर काठमाडौं जलाउने धम्की दिनेहरू नियन्त्रणमा


काठमाडौं-  जिल्ला प्रहरी परिसर काठमाडौं जलाउने धम्की दिने उद्देश्यले सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पजन भट्टराईका अनुसार, कार्यालय र सेवाग्राहीको सुरक्षा सुनिश्चित गर्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर पहिचान प्रक्रिया भइरहेको छ।

गएराति प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो। प्रसाईंलाई नछोडिए परिसर जलाउने प्रचार भएको र उनका समर्थकहरू परिसरमा भेला भएको बताइएको छ।

प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा नागरिक बचाउ महाअभियानका कार्यकर्ता पनि रहेका छन्। हालसम्म ५ जनालाई नियन्त्रणमा राखिएको छ।

सार्वजनिक शान्ति खलल पुर्‍याउने अभिव्यक्तिको आरोपमा पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ।

प्रसाईंको रिहाइको माग गर्दै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया