
आज शेख हसिनाविरुद्धको मुद्दाको फैसला, सुरक्षा सतर्कता बढाइयो
काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर ‘मानवता विरुद्धको अपराध’ सम्बन्धी मुद्दामा आज फैसला सुनाइँदैछ। बीबीसी बंगला सेवाका अनुसार विशेष न्यायाधिकरणले बिहान ११ बजे निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।
अभियोजन पक्षले हसिना, पूर्व गृहमन्त्री असदुज्जमान खान कमलसहित अन्य अभियुक्तहरूलाई अधिकतम सजाय, मृत्युदण्ड दिन माग गर्दै बहस प्रस्तुत गरेको छ। संवेदनशील मुद्दाको फैसला नजिकिँदै गर्दा सर्वोच्च अदालतले सुरक्षा व्यवस्था कडा बनाउन सेना परिचालनका लागि सेना मुख्यालयलाई पत्र पठाएको बताइएको छ। न्यायाधिकरण परिसर र आसपासका क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ।
चारैजनाको मुद्दाको फैसला प्रत्यक्ष प्रसारण गरिनेछ र बंगलादेश टेलिभिजनबाट लाइभ प्रसारण हुनेछ।
गत वर्ष सरकारविरोधी प्रदर्शन तीव्र बन्दै जाँदा देशभर हिंसा फैलिएको थियो। त्यही क्रममा शेख हसिनामाथि मानवता विरुद्धका अपराधमा संलग्न भएको आरोप लागेपछि उनी सत्ता छाडेर भारततर्फ शरण लिन बाध्य भएकी थिइन्। हाल पनि उनी भारतमै बस्दै आएकी छन्।



कागजपत्र |
