गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो : सुदन गुरुङ


काठमाडौं- ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीखो आरोप लगाउँदै हालको राजनीतिक व्यवहार एमालेको नेताजस्तो भएको टिप्पणी गरेका छन्।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका गुरुङले गृहमन्त्री अर्यालको मुख्य एजेन्डा चुनाव मात्र भएको र जेन–जी आन्दोलनका माग सम्बोधनमा कुनै सहयोग नगरेको दाबी गरे।

गुरुङले भने, “बाँकी मन्त्रालयहरूले काम गरिरहेका छन्, तर गृह मन्त्रालयले काम गर्न सकेको छैन। उहाँको एजेन्डा भनेको चुनावमात्र रहेछ। हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। देशलाई न्याय नभई, हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौं। गृह मन्त्रीले त जेनजीहरूलाई समातिराख्नु भएको छ, तर राजनीतिक दलहरूलाई छोएको पनि छैन। कहिलेकाहीं मलाई उहाँ एमालेको पो हो कि जस्तो लाग्छ।”

गुरुङले जेनजी आन्दोलन अब संरचनागत रूपमा अघि बढ्दै गएको दाबी पनि गरे। “१०–१५ जना फ्याट्ट–फुट्ट कार्यकर्ता होइनौं, हामीले वडासम्मै समितिहरू बनाइसकेका छौं,” उनले भने, “अब आन्दोलन अझ संगठित र प्रभावकारी बन्दै गएको छ।”

प्रतिक्रिया