ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली


ललितपुर-  ललितपुर महानगरपालिकाले आज आगलागी आपतकालीन सूचना प्रणालीको सुरुवात गरेको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा प्रणालीको स्वीच जडान गर्दै यसलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

उक्त प्रणालीको शुभारम्भ गर्दै महर्जनले बताए कि, आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्‍याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो। उनले भने, “हामीले प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा ल्याएका छौँ। प्रभावकारी देखिए ललितपुरका सबै चोकमा विस्तार गर्ने योजना छ। अहिले यसको कार्यक्षमता परीक्षण भइरहेको छ।”

महानगर प्रमुखले विपद् व्यवस्थापनका क्षेत्रमा ललितपुर महानगर अर्का नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको दाबी पनि गरे। आगलागी नियन्त्रणका लागि दुई दमकल खरिद गर्ने निर्णय गरिएको उनले बताए। यसअघि महानगरले आकस्मिक गुनासो र विपद्को सूचना लिन ११३१ नम्बरको टोल–फ्रि सेवा समेत सञ्चालनमा ल्याइसकेको छ।

अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार, एलएमसी एपबाट स्वीच थिच्ने सात सेकेन्डभित्र महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली जडान गरिएको छ। विद्युत् आपूर्ति बन्द भए पनि ४८ घण्टासम्म ब्याकअप उपलब्ध हुने ब्याट्री व्यवस्था गरिएको छ।

मंगलबजारमा जडान गरिएको उक्त प्रणालीलाई आगामी दिनमा टोल–टोल, उद्योग र कलकारखानामा समेत विस्तार गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया