दिल्लीमा भएको विस्फोटका दोषीहरूलाई नछोड्ने मोदीको चेतावनी


काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएराति दिल्लीको लालकिल्ला नजिक भएको कार विस्फोटका दोषीहरूलाई नछोडिने चेतावनी दिएका छन् ।

दुई दिने भ्रमणका क्रममा भूटान पुगेका प्रधानमन्त्री मोदीले घटनाका जिम्मेवार सबैले कडा सजाय भोग्ने बताएकाे बीबीसीले जनाएको छ । थिम्पुमा मोदीले भारतीय अनुसन्धान एजेन्सीहरू यस मामिलाको तल्लो तहसम्म पुग्ने उल्लेख गरे ।

यस्तै ‘दिल्ली रक्षा संवाद’ का क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि लालकिल्ला मेट्रो स्टेशन नजिक भएको घटनामा देशका प्रमुख एजेन्सीहरूले अनुसन्धान गरिरहेका र जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याइने आश्वासन दिएका छन् । अनुसन्धानको नतिजा चाँडै सार्वजनिक गरिने उनको भनाइ छ ।

यद्यपि लालकिल्ला नजिक आठ जनाको ज्यान जाने गरी भएको घटना कसरी भयो र कसले गरायो भन्ने विषयमा अहिलेसम्म सरकार वा त्यसका निकायबाट आधिकारिक टिप्पणी आइसकेको छैन ।

विस्फोटको घटनाको सबै कोणबाट छानबिन शुरू गरेको अधिकारीहरूले बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले घटनाबारे पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान थालिएको बताएका छन् ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वव भएको लालकिल्लामा दैनिक हजारौं आन्तरिक र विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । विस्फोटको घटनापछि त्यो ठाउँ तीन दिनका लागि बन्द गरिएको भारतीय पुरातत्त्व विभागले जनाएको छ ।

प्रतिक्रिया