
मधेशमा रातारात मुख्यमन्त्री नियुक्ति : सात दल सर्वोच्च अदालत जाने
जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात होटलबाट मुख्यमन्त्री नियुक्त गरिएको प्रकरणविरुद्ध सात दल सर्वोच्च अदालत जाने भएका छन्। संविधानको धारा १६८(३) को दाबी गर्दै गरिएको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलले रिट दायर गर्ने तयारी गरेका हुन्।
सोमबार बिहान बसेको सात राजनीतिक दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत सरकार गठन गरिएको निष्कर्ष निकाल्दै बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिन निर्णय गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए। उनका अनुसार ७ दलका ७४ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर जुटाइएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभामा बहुमत हासिल गर्न नसक्ने देखेपछि आइतबार राजीनामा दिएका थिए। उनले विश्वासको मत माग्नु अघि नै २५ दिनमै पदत्याग गरेका हुन्।
आइतबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको दाबी गरेका थिए। तर, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने सोमबार बिहानै बर्दिबासको पानस होटलमा एमाले संसदीय दलका नेता यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गराउँदै त्यहीँ शपथ ग्रहण गराएकी थिइन्।



कागजपत्र |
