
मधेशमा राजनीतिक तनाव : प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड
जनकपुरधाम- मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि प्रदेश प्रमुख कार्यालयदेखि मुख्यमन्त्री कार्यकक्षसम्म तोडफोड भएको छ। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका सांसद तथा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिँदै कार्यालय परिसरमा तोडफोड गरेका हुन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको मागसहित प्रदर्शनमा सहभागी समूहले कार्यालय अगाडिको बोर्ड र गमलासहितका सामग्रीमा क्षति पुर्याए।
बिहानै जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीमण्डलको कार्यालयमा पनि तोडफोड भएको थियो। कांग्रेसका सांसद वीरेन्द्र कुमार सिंहले कार्यालयमा राखिएको राष्ट्रिय झण्डा निकालेर फालेका थिए। तोडफोडबाट सामान्य क्षति पुगेको बताइएको छ। राजनीतिक द्वन्द्व बढ्दै जाँदा मधेश भवन अगाडि नेता–कार्यकर्ताले टायर बालेर प्रदर्शनसमेत गरेका छन्।
डा. सीके राउतले मधेशलाई स्वायत्त क्षेत्र घोषणा गर्ने मौका आएको दाबी गर्दै सडकमै प्रदेश सभा बैठक बोलाएर स्वायत्तता घोषणा गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री नियुक्ति तथा शपथको शैलीप्रति असन्तुष्ट दलहरूले प्रदेश प्रमुख भण्डारीको कार्यशैली असंवैधानिक भएको आरोप लगाएका छन्। प्रदेश प्रमुख काठमाडौं उपचारका लागि गएकी भनिए पनि उनले महोत्तरीको बर्दिबासस्थित होटेल पानसमा एमालेलाई ठूलो दल देखाउँदै सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्।



कागजपत्र |
