विहार चुनावका कारण नेपाल- भारत सीमानाकामा आवागमन बन्द


रौतहट- भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै सीमा शील गर्ने चलन रहिआएको छ ।

सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिए ।

प्रतिक्रिया