
गगनलाई सिटौलाको प्रश्न – “सभापति फेसबुकबाट बनाउने हो कि विधानबाट ?”
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापामाथि तीखो प्रश्न गरेका छन्। उनले साेधेका छन्, “पार्टीको सभापति फेसबुकबाट बनाउने हो कि विधानले ?”
सिटौलाले पछिल्ला दिनहरूमा गगन थापाले सामाजिक सञ्जालमार्फत विशेष अधिवेशनको माग गर्दै नेतृत्वमाथि गरेको टिप्पणीलाई लक्षित गर्दै भने, “महामन्त्री पदको जिम्मेवारी फेसबुकमा स्टाटस लेख्ने होइन, संगठनलाई दिशा दिने हो।”
उनको भनाइमा पार्टीभित्र नेतृत्व परिवर्तनको प्रक्रिया भावनाले होइन, विधानले तोकेको मार्गबाट हुनुपर्छ। सिटौलाले परोक्ष रूपमा गगन थापाको शैलीप्रति असन्तोष जनाउँदै थपे, “फेसबुकमा अभियान चलाएर सभापति बन्ने सपना देख्नेहरूले काँग्रेसको परम्परा र अनुशासन बुझेका छैनन्। महामन्त्री भन्नु पद होइन, जिम्मेवारी हो। संगठन बलियो बनाउने वाचा हो।”
कांग्रेसभित्र पछिल्लो समय विशेष अधिवेशन बनाम नियमित महाधिवेशनको बहस चर्किंदै गएको छ। एक पक्षले तत्काल विशेष अधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको वातावरण बनाइरहेको छ भने, अर्को पक्षले भने विधानअनुसार समयमै नियमित महाधिवेशन हुनुपर्ने अडान लिएको छ।
सिटौलाको टिप्पणी पार्टीभित्र गगन थापा समूहमाथि लक्षित “संयमित तर तीखो चेतावनी” का रूपमा लिइएको छ। उनको भनाइले कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण र नयाँ पुस्ताको असन्तुष्टि दुबैलाई पुनः सतहमा ल्याएको छ।



कागजपत्र |
