
३ दिनपछि खुल्यो बीपी राजमार्ग
काभ्रे – बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खस्दा अवरुद्ध भएको थियो ।
अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आइतबार (कात्तिक १६) बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८, चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
पहिरोका कारण डाइभर्सन बनाउन तथा अवरोध हटाउन केही समस्या भएको इन्जिनियर योगेशले बताए ।
रोशी–१२, माम्ती क्षेत्रमा सुक्खा पहिरो खसेको थियो । ‘सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ,’ उनले भने ।
यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गका विभिन्न सडकखण्डमा ढुंगा तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
इन्जिनियर योगेशका अनुसार, बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुंगा र लेदो खसेको थियो ।
गत वर्षको असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । ‘सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो,’ उनले भने ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका निम्ति चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । रासस



कागजपत्र |
