कांग्रेस किन ‘अर्ली इलेक्शन’मा जोड दिँदैछ? यस्ता छन् सभापति देउवाका आन्तरिक रणनीति


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गराई वैकल्पिक सरकारको नेतृत्वका विषयमा नेपाली कांग्रेस सकारात्मक भए पनि निर्णायक हुन जनता समाजवादी पार्टीको बाटो हेरिरहेको छ।

नेपाली कांग्रेसले ओलीको विकल्पको सरकारको नेतृत्व गर्न सकिने बताएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको तयारी गरेको थियो। तर जसपाको महन्थव ठाकुरलगायतको बहुमतको पक्षले अहिले ओलीको विकल्पमा जाने कुनै ठोस निर्णय नगर्दा कांग्रेस पनि अलमलमा छ।

सभापति शेरबहादुर देउवा अहिले ‘अर्ली इलेक्शन’मा जानुपर्ने पक्षमा उभिएका छन्। कमजोर अवस्था रहेको र जसपा पनि निर्णायक हुन नसक्दा ओलीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको खण्डमा एक बर्षसम्म यहि सरकार चल्दा घाटा हुने देउवाले ‘ब्रिफिङ’ गरिरहेका छन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतले अहिले चुनाव भन्दा पनि सरकार बनाउनमा नै सक्रिय हुनुपर्ने बताइरहेका बेला सभापति देउवाले कांग्रेस महाधिवेशनलाई समेत ध्यानमा राखेर रणनीतिक रुपमा अर्ली इलेक्शनलाई महत्व दिएका हुन्।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि सभापति देउवाले तत्काल चासो नदेखाउनुको पछि कमजोर बहुमतको सरकार बन्ने विकल्प र कांग्रेसको आगामी महाधिवेशनबाट सभापतिमा फेरि आउने रणनीतिमा धक्का पनि हुनसक्छ।

तर अर्ली इलेक्शन भएको खण्डमा देउवालाई यी दुवै अवसर गतिलो र बलियोगरी प्राप्त हुने विश्लेषण गरिएको छ।

मुलुक अहिले चुनावतिर लम्किएको खण्डमा नेपाली कांग्रेस बलियो र पहिलो पार्टी हुने स्वभाविक प्रक्षेपण गरिएको छ। त्यसलाई महाधिवेशनमा फेरि सभापति जित्ने अवसरका रुपमा देउवा उपयोग गर्न चहान्छन्। कांग्रेस उच्च स्रोतले भन्यो,‘चुनाव हुने पक्का भए महाधिवेशनअघि देउवा आफूलाई सहयोग गर्नेलाई टिकट दिएर अर्को पटकको पार्टी सभापतिको सिट सुरक्षित गर्न चहान्छन्।’

चुनाव भएको खण्डमा कांग्रेस स्वभाविक रुपमा पहिलो पार्टी हुने र सरकार बनाउने अवसर पाउने हुँदा त्यसको संसदीय दलको नेता समेत भएर देउवा बलियो सत्ताको खोजीमा छन्। तर त्यसका लागि पौडेल र सिटौला बाधक बनिरहेका कारणले देउवा निर्णित हुन सकेका छैनन्।

अहिले जसपाको ठाकुर पक्षको अडानले देउवाको आशंका र समीकरणका लागि आएका प्रस्तावमा उत्तर दिन सजिलो भएको छ। त्यसैले उनले माओवादी अध्यक्ष प्रचण्डलाई भनेका थिए,‘पहिला समर्थन फिर्ता लिनुस्, जसपालाई मनाउनुस्, कांग्रेस सँधै तयार छ।’

तर प्रचण्डले अहिले नै उक्त समीकरण बनाउन सक्ने स्थिति भने बनेको छैन। उनले जसपाका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई फकाए पनि बलियो शक्ति रहेका ठाकुर र राजेन्द्र महतोलाई विश्वासमा लिन सकेका छैनन्।

प्रतिक्रिया