
बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम
भैरहवा — राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ। विद्युत् प्राधिकरणले रूपन्देहीका १३ उद्योगमा ट्रंकलाइन रकम नतिरेको भन्दै विद्युत् काटेपछि सुरु भएको मजदूर आन्दोलनमा सहभागी भएका गौतम भाषणकै क्रममा मञ्चमै ढलेका थिए।
भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोधसभा तथा धर्ना कार्यक्रममा सम्बोधन गर्दै गर्दा अचानक ढलेका उनलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले ६५ वर्षीय गौतमलाई मृत घोषित गरेका थिए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार, गौतम ढलेपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लगिएको भए पनि बचाउन सकिएन। गौतमले धर्ना कार्यक्रममा सम्बोधन गर्दै सरकार र प्राधिकरणले उद्योगहरूलाई अन्यायपूर्ण रूपमा फसाएको आरोप लगाएका थिए।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी गौतम २०५४ सालदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय रहेका थिए। उनी लामो समयदेखि जिफन्टका केन्द्रीय उपाध्यक्षका रूपमा मजदूर अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए।



कागजपत्र |
