दार्चुलाकी सुत्केरीको अवस्था गम्भीर, उद्धार ढिलाइले शिशुको पेटमै मृत्यु


दार्चुला- दार्चुलाको लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सोमबार रातिदेखि सुत्केरी ब्यथा सुरु भएपछि अत्यधिक रक्तस्राव भएको शीतलका परिवारजनले बताएका छन्।

राति नै उनलाई गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्यकर्मी कविता पोख्रेलका अनुसार प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया अघि बढाइएको थियो। यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध पत्रसमेत पठाइसकेको थियो।

“हेलिकप्टरको तयारी भइरहेको थियो, तर बीचमै बिरामीको अवस्था केही सुधार भएको भन्दै रेफर रोकिएको थियो,” पोख्रेलले भनिन्। केही घण्टापछि शीतलले बच्चा जन्माइन्। तर शिशुको पेटमै मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

सुत्केरीको अवस्था फेरि जटिल बनेपछि उनलाई गोकुलेश्वर अस्पताल रेफर गरियो। त्यहाँबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको शीतलका पति भास्कर लावडले जानकारी दिए। उनका अनुसार अत्यधिक रक्तस्राव रोक्न नसकेपछि चिकित्सकले थप उपचार आवश्यक भएको बताएका छन्।

डडेल्धुरा अस्पतालमा भर्ना गरिए पनि औषधिका खर्च जुटाउन नसकिएको भास्करको गुनासो छ। “डाक्टरले पर्ची दिएर औषधि लिन भन्नुभएको छ। तर किन्ने पैसा छैन। हामी अत्यन्तै विपन्न छौँ। के गर्ने भनेर भौतारिएको छु,” उनले भने।

उद्धारका लागि सबै प्रक्रिया पूरा भइसके पनि स्थानीय स्वास्थ्यकर्मीले अवस्था सामान्य रहेको भन्दै हेलिकप्टर नआह्वान गरेको कारण शिशुको ज्यान गएको र सुत्केरीको जीवनसमेत जोखिममा परेको भास्करको आरोप छ।

प्रतिक्रिया