
खराब मौसमका कारण एबीसी पदयात्रामा रोक, पदयात्री फसेपछि उद्धार टोली परिचालन
काठमाडौं – अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा पूर्ण रुपमा रोक लगाइएको छ। सो क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेकाले जोखिम बढेपछि पदयात्रामा अस्थायी प्रतिबन्ध लगाइएको हो।
खराब मौसमका कारण केही पदयात्रीहरू तल झर्न र माथि आरोहण गर्न नसकी विभिन्न स्थानमा फसेका छन्। उनीहरूलाई सुरक्षित उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहितको टोली परिचालन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ।
उद्धार टोलीका सदस्य शेरचनका अनुसार विभिन्न स्थानमा पदयात्रीहरू संकटमा परेका सूचना प्राप्त भएपछि तत्काल उद्धार कार्य सुरु गरिएको हो। उद्धार टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वयमा फिल्डमा खटिएको छ।
गाउँपालिकाले आवश्यक सहयोग वा जानकारीका लागि प्रहरी कन्ट्रोलको १०० नम्बर, नजिकको प्रहरी कार्यालय वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।



कागजपत्र |
