चार मन्त्रीको सांसद पद निलम्बन गर्दा गृहमन्त्री बादललाई प्रचण्डले छुन नसक्नुको कारण


काठमाडौं– नेकपा विभाजनसँगै माओवादी केन्द्रका कतिपय नेता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा रहे र सरकारमा मन्त्रीको जिम्मेवारीमा छन्।

नेकपा एमाले र माओवादी केन्द्र विभक्त गराउने सर्वोच्चको आदेश आए पनि पार्टीमा नफर्केका तर सरकारमा रहेका चार जना प्रतिनिधि सभा सदस्यलाई हटाएको निर्णय संसद सचिवालयमा पठाइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई हटाउने निर्णय गराएर संसद सचिवालयलाई पत्र लेखेका छन्।

तर उनले एमालेमा प्रवेश गर्ने तथा प्रधानमन्त्री ओलीलाई साथ दिने गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको पद निलम्बनका लागि किन सिफारिस गर्न सकेनन्? किन छोएनन्? जबकि सार्वजनिक मञ्चमा उनी बादलकै सबैभन्दा ठूलो आलोचक बनिरहेका छन्।

उच्च स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई संसदीय दलको हैसियतमा प्रचण्डले निलम्बन गरे पनि राष्ट्रिय सभा सदस्य रहेका कारण बादललाई छुन नसकेका हुन्। नेकपाबाट बागमती अञ्चल अन्तर्गत उनी उम्मेदवार बनी जितेका कारणले बादललाई नचलाइएको हो।

यदि कुनै हिसाबले चलाए पनि उक्त रिक्त स्थानमा प्रधानमन्त्री ओलीले बादललाई नियुक्ति दिलाएर राष्ट्रिय सभामा ल्याउन सक्ने भएकाले पनि प्रचण्डले नछोएको स्रोतको दाबी छ।

‘अन्यलाई हटाउनका लागि प्रचण्डलाई कुनै कठिनाई नहुने देखियो तर बादललाई हटाए उनी फेरि पनि उक्त स्थानमा आउन सक्ने भएपछि सोचविचार गरेरै निर्णय लिइएको हो’, माओवादी उच्च स्रोतले भन्यो,‘समानुपातिकका कोही एमालेतिर गएका रहेछन् भने फेरि पनि कारबाही गर्न सकिनेछ।’

प्रतिक्रिया