आईपीओ रोकेर धितोपत्र बोर्डले ऊर्जा क्षेत्र थला पार्‍यो : इप्पान


काठमाडौं-  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् कम्पनीहरूको आईपीओ (प्राथमिक सेयर) र हकप्रद सेयर निष्कासनमा भएको ढिलाइका कारण निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको बताउँदै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी इप्पानले धितोपत्र बोर्डले विगत २८ महिनादेखि सेयर निष्कासन प्रक्रिया रोकेर ऊर्जा क्षेत्रकै विकासमा गम्भीर असर पुर्‍याएको आरोप लगाएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म ९७५ मेगावाट बराबरका ४३ जलविद्युत् कम्पनीले आईपीओ र सात कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पर्खिरहेका भए पनि प्रक्रिया अघि नबढ्दा २३ अर्ब २७ करोड ८ लाख रुपैयाँबराबरको धितोपत्र निष्कासन हुन नसकेको जानकारी दिए।

उनका अनुसार आईपीओ जारी नहुँदा ऊर्जा क्षेत्रमा कुल १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। “यस ढिलाइका कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज रकम बढेको छ, २४ अर्ब ३० करोड ६७ लाख रुपैयाँ लागत वृद्धि भएको छ र ७१ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ राजस्व आम्दानी गुमेको छ,” कार्कीले भने।

इप्पानले आफ्ना माग तुरुन्त सम्बोधन नभए प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र धितोपत्र बोर्ड अध्यक्षको ध्यानाकर्षण गराउँदै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

संस्थाले ‘रियल नेटवर्थ’ का आधारमा आवेदन हटाइएका कम्पनीहरूले धितोपत्र बोर्ड अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने, लगानीकर्ताको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग्दै अख्तियारमा उजुरी गर्ने र माग नमानिए १५ दिनभित्र कडा आन्दोलन सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया