विपिन जोशीको त्याग र बहादुरी राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की


काठमाडाैं-  अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि भएको खबरले आफू स्तब्ध भएको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले मङ्गलबार एक शोक वक्तव्य जारी गर्दै विपिन जोशीको निधनको खबरले दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनालाई छिन्नभिन्न पारेको उल्लेख गरेकी हुन्। ‘बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाविच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले म स्तब्ध भएकी छु । यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु’ उनले भनेकी छन् ।

उनले विपिन जोशीको बहादुरीपूर्ण त्यागले धेरै साथीहरूको ज्यान बचाएको भन्दै राष्ट्रले उनको वीरतालाई सधैँ सम्झिरहने पनि बताइन्। ‘बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतीक का रूपमा जीवित राखेछ ।’ उनले भनेकी छन्, ‘विपिन जोशीको आत्माले शान्ति पाओस् । उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन ।’

प्रतिक्रिया