इजरेल पुगे राष्ट्रपति ट्रम्प, सर्वोच्च नागरिक पदकबाट सम्मानित हुने


काठमाडौं — हमासले बन्धकहरू मुक्त गर्न थालेको बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इजरेल पुगेका छन्। इजरेल जानुअघि उनले गाजाको युद्ध अब समाप्त भएको घोषणा गरेका थिए।

सङ्घर्षविराम सम्झौताअनुसार हमासले आफूले नियन्त्रणमा राखेका सबै इजरेली बन्धकहरूलाई क्रमशः हस्तान्तरण गर्न सुरु गरेको बताइएको छ। पहिलो चरणमा मुक्त गरिएका सात इजरेली नागरिकहरू सुरक्षित रूपमा इजरेली सीमाभित्र प्रवेश गरिसकेका छन्।

स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेसम्म हमाससँग रहेका ४८ जना बन्धकहरू फिर्ता गरिसक्नुपर्ने सम्झौता भएको छ। तीमध्ये २० जना जीवित रहेको अनुमान गरिएको छ। बदलामा इजरेलले २५० जना प्यालेस्टिनी बन्दीहरू र हिरासतमा रहेका १,७०० भन्दा बढीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

इजरेल पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यहाँको सरकारले देशको सर्वोच्च नागरिक पदकबाट सम्मान गर्ने घोषणा गरेको छ। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसदमा हुने भेटका क्रममा ट्रम्पलाई सो सम्मानबारे औपचारिक जानकारी दिने जनाइएको छ। उक्त पदक भने पछि विशेष समारोहमार्फत प्रदान गरिनेछ।

हमासले बन्धकहरू मुक्त गराउन ट्रम्पले निर्वाह गरेको ‘नयाँ भूमिका’ का कारण उनलाई सम्मानित गर्न लागिएको इजरेली पक्षले जनाएको छ।

इजरेल प्रस्थानअघि ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग आफ्नो सम्बन्ध “निकै राम्रो” रहेको उल्लेख गरे। उनले नेतन्याहूलाई “युद्धकालीन राष्ट्रपति” का रूपमा सम्बोधन गर्दै भने, “उनले कठिन परिस्थितिमा पनि राम्रो काम गरे। केही मतभेदहरू थिए, तर ती अब समाधान भइसकेका छन्।”

इजरेल भ्रमणपछि ट्रम्प इजिप्ट जाने कार्यक्रम छ, जहाँ उनी मध्यपूर्वमा शान्ति स्थापना गर्न केन्द्रित अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेका छन्। उक्त सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसहित विश्वका अन्य प्रमुख नेताहरू सहभागी हुनेछन्।

प्रतिक्रिया