खुकुरी नचाएर उपत्यका प्रहरी कार्यालय जलाउनेलाई बनाइयो जेनजीका कोशी संयोजक


काठमाडौं –  जेन-जी आन्दोलनको दोस्रो दिन अर्थात् गत भदौ २४ गते राजधानीमा अराजकता हावी हुँदा संसद भवनदेखि सिंहदरबारसम्म तोडफोड र आगजनी भयो। राजनीतिक दलका कार्यालयदेखि शीर्ष नेताका निजी आवाससमेत सुरक्षित रहन सकेनन्।

त्यसै दिन जनताको सुरक्षामा खटिने काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाए। कार्यालयमा भएको आगजनीले राजधानीको सुरक्षा संयन्त्रमै ठूलो आघात पुर्‍यायो, किनभने देशकै सबै सीसीटीभी निगरानी केन्द्र ध्वस्त पारियो। करिब दुई दर्जन प्रहरी गाडीमा तोडफोड गर्दै आगजनी गरियो भने सम्पूर्ण भौतिक संरचना जलाएर नष्ट पारियो। प्रहरीले ठूलो संख्यामा हतियारसमेत लुटिएको पुष्टि गरेको छ।

त्यसमा खोटाङका उपार्जुन चाम्लिङ राई संलग्न रहेकाे खुलेकाे छ। उनी अहिले जेन-जी नेपालका कोशी प्रदेश संयोजक तोकिएका छन्। सुदन गुरुङ र निकोलस भुसालले राईसँगै मधेशमा शिव यादव, बागमतीमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउदलाई संयोजक बनाएका थिए।

शुक्रबार प्रहरीले देखाएको सीसीटीभी फुटेजमा उनी उपत्यका प्रहरी कार्यालयको पार्किङमा राखिएको गाडीमाथि खुकुरी प्रहार गरिरहेका देखिन्छन्। हरियो धर्के सट, कालो गञ्जी र कम्मरमा खुकुरी भिरेर उनी ज्याकी च्यान शैलीमा गाडीमाथि हानिरहेको दृश्यमा कैद भएका छन्।

यद्यपि असोज ५ गते चाम्लिङले सुदन गुरुङ र डा. निकोलस भुसालसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई भेटेर आन्दोलनमा संलग्न जेन-जीलाई पक्राउ नगर्न दबाब दिएका थिए। तर फुटेज सार्वजनिक भएपछि उनलाई नै प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रत्यक्ष संलग्न देखाइएको छ।

घटनापछि उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले सम्पूर्ण मुद्दा जिल्ला प्रहरी परिसरमार्फत संचालन गर्ने निर्देशन दिएका छन्। उनका अनुसार कार्यालय ध्वस्त भएकाले तत्काल वैकल्पिक व्यवस्था खोजिएको छ।

चाम्लिङले भने अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर प्रहरी अधिकारीहरूको भनाइमा उनीहरू आफैं संलग्न भएकै कारण  उच्च तहमा दबाब दिन सक्रिय देखिएका छन्।

यो पनि:

यी हुन् उपत्यका प्रहरी कार्यालय जलाएर हतियार लुट्ने अराजक प्रदर्शनकारी !

प्रतिक्रिया