
काठमाडौंमा डेंगु संक्रमण पुनः बढ्दै
काठमाडौं- पछिल्ला वर्षहरूमा घटबढ गर्दै आएको डेंगु संक्रमण यस वर्ष फेरि बढ्न थालेको छ। काठमाडौँ महानगरपालिकाभित्र पुसदेखि अहिलेसम्म २४८ जनामा डेंगु पुष्टि भइसकेको महानगरले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका तथ्यांकअनुसार सन् २०२२ मा काठमाडौँमा ९ हजार ८८६ जनामा डेंगु भेटिएको थियो। त्यसपछि सन् २०२३ मा १ हजार ७१४, सन् २०२४ मा २ हजार ९८४ र हालसम्म सन् २०२५ मा २२७ जनामा संक्रमण देखिएको छ। अस्पतालले संक्रमितको ठेगानामा पालिकाको नाम छुटेको भए पनि अधिकांश केस काठमाडौँ महानगर क्षेत्रमा देखिएको जनाएको छ।
महानगरपालिकाका महामारी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार काठमाडौँमा पहिलो पटक सन् २०१८ (वि.सं. २०७५) मा चमती क्षेत्रमा एक महिलामा डेंगु भेटिएको थियो। त्यसपछि बालाजु क्षेत्रमा पनि संक्रमण देखिएको थियो। उनका अनुसार डेंगु कुनै वर्ष बढी, कुनै वर्ष कम हुने प्रवृत्ति देखिन्छ।
डेंगु फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्ने भएकाले महानगरले लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयवासीको सक्रिय सहभागिता रहेको छ।
देशभर संक्रमण अझै चुनौती
नेपालमा पहिलो पटक २०६१ सालमा डेंगु भेटिएको हो। त्यसयता संक्रमण दर बढ्दो क्रममा छ। सन् २०२२ मा मात्रै देशभर ५४ हजार ७८४ जना संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा ५२ हजार ७९० संक्रमितमध्ये २० जनाको मृत्यु भयो। सन् २०२४ मा संक्रमित घटेर ६ हजार ८३१ पुगे पनि ४ जनाको ज्यान गयो।
यसअघि सन् २०१९ मा १७ हजार ९९२ संक्रमितमध्ये ६ जनाको मृत्यु भएको थियो। तर सन् २०२० र २०२१ मा संक्रमण निकै कम भई करिब ५३० देखि ५४० जनामा मात्र सीमित भएको थियो।



कागजपत्र |
