
रवि लामिछानेसँगै भागेका सन्तबहादुरले श्रीमतीको हत्या गरे, फेरि नक्खु कारागार फर्किए
काभ्रे- पनौती नगरपालिका–१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनीषा तामाङको हत्या गरी शव खाल्डोमा पुरेको खुलेको छ। हत्या गरेपछि उनी सिधै नक्खु कारागार फर्किएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्।
प्रहरीको आशंका अनुसार, हत्याको आरोपबाट जोगिनकै लागि तामाङ कारागार फर्किएका हुन्।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा नक्खु कारागारमा तोडफोड र आगजनी हुँदा अन्य ७ सय कैदीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै तामाङ फरार भएका थिए। उनी तीन वर्षअघि जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका थिए।
तर, जेलबाट भागेर घर पुगेका तामाङले असोज ३ गते बिहान श्रीमतीको हत्या गरेको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्। श्रीमान्–श्रीमतीबीचको आन्तरिक विवादकै क्रममा हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
हत्या गरेको दिनमै तामाङ पुनः कारागार पुगेको पाइएको छ। यसबारे जानकारी पाएपछि काभ्रे प्रहरीले पनि नक्खु पुगेर थप अनुसन्धान थालेको छ।
अब उनीमाथि जबरजस्ती करणीसहित कर्तव्य ज्यान मुद्दामा पनि कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
तामाङका १२ वर्षीय छोरा र ३ वर्षीया छोरी रहेका छन्। कारागार स्रोतका अनुसार, उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी थियो।
तामाङसँगै भागेका रवि लामिछाने पनि कारागार फर्किसकेका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए। अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो।



कागजपत्र |
