कालिमाटी प्रहरी वृत्तमा आगजनी गर्ने ‘गोल्डेन’ पक्राउ


काठमाडौं-  जेनजी आन्दोलनका क्रममा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ निवासी ३८ वर्षीय सचिन खड्का उर्फ ‘गोल्डेन’ रहेका छन्।

भदौ २४ गते भएको प्रदर्शनका समयमा खडकाले प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ। सो क्रममा उनले थ्रिनट–थ्री राइफल, खुँडा र खुकुरीसहित प्रहरी वृत्त अगाडि खुसी मनाइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार खडकाले आफ्नो घर रहेको काठमाडौँ–१३ को वडा कार्यालयमा समेत आगजनी गर्ने समूहको नेतृत्व गरेका थिए। सोल्टिमोडस्थित वडा कार्यालयमा भएको आगजनीमा पनि उनको संलग्नता देखिएको र हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीविरुद्ध आपराधिक उपद्रवको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। हाल उनलाई अन्य आगजनी र लुटमा संलग्न अभियुक्तहरूसँगै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।

 

प्रतिक्रिया