
अझै भएन मन्त्रीपरिषद् विस्तार, क–कसले नकारे अफर ?
काठमाडौं — प्रधानमन्त्रीमा सपथ लिएको १० दिन पुगिसक्दा पनि सुशीला कार्कीले मन्त्रीपरिषद्लाई पूर्णता दिन असफल भएकी छिन् । भदौ २३ र २४ को जेनजीको आन्दोलनपछि एकाएक प्रधानमन्त्री बन्ने अवसर पाएकी कार्कीले २७ गते सपथ लिएकी थिइन् ।
त्यसपछि २९ गते ३ मन्त्री नियुक्ति गरेकी कार्कीले त्यसपछि अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्न गरेकी छैनन् ।
मन्त्रीका लागि विभिन्न व्यक्तित्वहरुका लागि प्रस्ताव गरिरहेकी कार्कीले अब सोमबार (भोली) सम्म मन्त्री मण्डल विस्तार गर्ने जनाइएको छ ।
कार्कीले विभिन्न व्यक्तित्वहरुलाई मन्त्री पदको अफर गर्दै भेटघाटमा व्यस्त नै रहेकी छिन् । उनले अघिल्लो साता डा. सन्दुक रुइतलाई मन्त्री पदको अफर गर्दै उनकैले काम गर्ने तिलगंगा आँखा अस्पताल पुगेकी थिइन् । तर डा. रुइतले मन्त्री नबन्ने जनाउँदै प्रधानमन्त्री कार्कीलाई बिदाई गरेका थिए । त्यस्तै संविधानविद् डा. भिमार्जुन आचार्यलाई मन्त्रीको प्रस्ताव गरिएको जनाइएको छ । उनले पनि मन्त्री नबन्ने जवाफ दिएको जनाइएको छ । त्यसैगरी डा. भगवान् कोइरालालाई पनि मन्त्रीको प्रस्ताव गरिएको जनाइएको छ ।
पछिल्लो समय सरकारका तर्फबाट समाजका विज्ञ एवं प्रतिष्ठित व्यक्तिहरुलाई मन्त्रीको अफर दिइरहेको जनाइएको छ ।
यसै क्रममा नेपाली सेनाका पूर्व जर्नेल बालानन्द शर्मा, पाइलट विजय लामा, वैज्ञानिक एवं अनुसन्धानकर्ता महाबिर पुनलगायतलाई मन्त्रीको प्रस्ताव गरिएको जनाइएको छ । प्रस्ताव गरिएकामध्ये महाविर पुनले भने सकारात्मक जवाफ दिएको स्रोतले जनाएको छ । तर, अहिले नै उनले पनि केही खुलाउन चाहेनन् ।
प्रधानमन्त्री कार्कीले राजनीति भन्दा बाहिर रहेका सम्बन्धित क्षेत्रमा विज्ञ, हालसम्म कुनै विवादनमा नआएका र प्रतिष्ठित व्यक्तिहरुलाई समेट्दै बढीमा ११ सदस्यीय मन्त्रीपरिषद् बनाउने घोषणा गरेकी छिन् ।



कागजपत्र |
