
भारतमा ‘गिदी खाने अमीबा’ आतंक: ७० बिरामी, १९ जनाको मृत्यु
केरला, भारत- ओणम चाडको उत्सवमय वातावरणमा केरला राज्य एक दुर्लभ तर घातक रोगकै त्रासले ग्रसित भएको छ । ४५ वर्षीया दलित महिला शोभनाले ‘गिदी खाने अमीबा’ (नाग्लेरिया फालेराई) को सङ्क्रमणका कारण ज्यान गुमाएपछि यो रोगप्रति आम मानिस थप सचेत भएका छन् ।
फलफूलको रस भर्ने काम गरेर परिवार पाल्दै आएकी शोभना केही दिनअघि अस्वस्थ भइन् । रिँगटा, उच्च रक्तचाप र कामज्वरोसँगै अवस्था चाँडै बिग्रियो । ओणमकै दिन, सेप्टेम्बर ५ मा उनको मृत्यु भयो । पछि मात्र परिवारले उनले दुर्लभ सङ्क्रमण भोगेको थाहा पाए ।
यो अमीबा दूषित पानीसँग नाकको सम्पर्क हुँदा शरीरमा पस्छ र मस्तिष्कका कोष नष्ट गर्न थाल्छ । यसलाई वैज्ञानिक भाषामा ‘प्राइमरी अमीओबिक मेनिन्जोएन्सेफलाइटिस’ भनिन्छ ।
केरलामा यस वर्ष मात्र करिब ७० बिरामी भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । गत वर्ष मृत्यु दर २३ प्रतिशत थियो भने यस वर्ष पनि झन्डै २५ प्रतिशत बिरामी ज्यान गुमाइरहेका छन् । तर विगतको भन्दा उपचारमा सुधार देखिएको छ । कारण, समयमै परीक्षण र एन्टिमाइक्रोबायल औषधि तथा स्टेरोइडको प्रयोग ।
‘बिरामी धेरै भेटिएका छन्, तर मृत्यु दर केही घटेको छ,’ तिरुवनन्तपुरम शिक्षण अस्पतालका डा. अरविन्द रेघुकुमार भन्छन्, ‘समयमै पहिचान भए जीवन बचाउन सम्भव छ ।’
केरलामा ५५ लाख कुवा र ५५ हजार पोखरी छन्, जसमा दैनिक करोडौँ मानिस निर्भर छन् । तर प्रदूषण, धार्मिक प्रथा (नाकमा पानी हाल्ने चलन) र असुरक्षित पोखरीमा पौडी खेल्ने संस्कारले जोखिम बढाएको छ ।
अहिलेसम्म २७ लाखभन्दा बढी कुवामा क्लोरीन हालिएको छ । तर सबै पोखरी र कुवालाई सुरक्षित बनाउनु कठिन भएकाले स्थानीय प्रशासनले सचेतनामूलक बोर्ड राखेको छ । स्वास्थ्यविद्हरूले जनतालाई “नाकमा राख्ने पानी सफा राख्न, असुरक्षित पोखरीमा ननुहाउन” आग्रह गरेका छन् ।
विश्वव्यापी तथ्याङ्क अनुसार १९६२ देखि हालसम्म ४८८ केस अभिलेखित छन्, जसमा ९५ प्रतिशत बिरामीको मृत्यु भएको छ । अमेरिका, पाकिस्तान र अस्ट्रेलियामा बढी घटना देखिएका भए पनि हाल केरला यसको नयाँ ‘हटस्पट’ बन्दै गएको छ ।



कागजपत्र |
