खोटाङमा रेश्मिकाको ब*लात्कारपछि हत्या: एक किशोर पक्राउ


खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

गत भदौ ३० गते मार्से सामुदायिक वनमा मृत फेला परेकी रेश्मिकालाई कार्यालयबाट घर फर्कने क्रममा स्थानीय किशोरले बलात्कार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरेका छन्। “उनको उमेर नाबालक रहेको भनिए पनि जन्मदर्ता प्रमाणित नभएकाले अझै छानबिन भइरहेको छ,” मिश्रले बताए।

स्थानीय साना किसान सहकारी संस्थामा कार्यरत रेश्मिका एक छोरीकी आमा थिइन्। उनी कार्यालयबाट घर नफर्केपछि खोजतलासी गर्ने क्रममा मृत फेला परेकी हुन्। शव वरिपरि झाडी मडारिएको, झोला र अन्डरवेर भेटिएको प्रहरीले जनाएको छ।

सामुदायिक वनमा शंकास्पद अवस्थामा भेटिएकी रेश्मिकाको शव तीन दिनपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि परिवारको जिम्मा लगाइएको हो।

आफन्त र स्थानीयले यस घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया