जेन-जी आन्दोलनमा निजी क्षेत्रको क्षति : बीमा कम्पनीमा करिब २१ अर्ब दाबी


काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट निजी क्षेत्रलाई ठूलो आर्थिक क्षति पुगेको छ। बीमा कम्पनीहरूमा मंगलबारसम्म करिब पौने २१ अर्ब रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा १९८४ वटा उजुरी दर्ता भएका छन्, जसको जम्मा रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको छ।

सबैभन्दा धेरै दाबी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा मात्र ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको क्षति दाबी दर्ता भएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड २२ लाख, शिवर इन्स्योरेन्समा २ अर्ब ३९ लाख, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड, र सगरमाथा इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ क्षति दाबी परेको प्राधिकरणले जनाएको छ।

यस्तै, हिमालय एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख, नेका इन्स्योरेन्समा १ अर्ब ९ करोड ९५ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, र नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेशनल इन्स्योरेन्समा ६ करोड ८२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ क्षति दाबी दर्ता भएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीका अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति बीमा नभएकाले यी दाबी निजी क्षेत्रको मात्र हुन्। “अहिलेसम्म दाबी दर्ता भइरहेको क्रम जारी छ,” सुवेदीले भने।

प्रतिक्रिया