
जेनजी आन्दोलनका सहिदहरूको सामूहिक शवयात्रा
काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको आज सामूहिक शवयात्रा गरिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएका शवहरू पोष्टमार्टमपछि परिवार र आफन्तलाई जिम्मा दिइएपछि शवयात्रा सुरु भएको हो। मृतकका परिवार, आफन्त, आन्दोलनकर्मी तथा नागरिकहरूको ठूलो भीड शवयात्रामा सहभागी भएको छ।
शवयात्रा महाराजगञ्ज, चाबहिल, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने हुँदै नगर परिक्रमा गरेर पशुपति आर्यघाटतर्फ अघि बढाइएको छ। सयौँ युवाहरू मोटरसाइकलसहित शवयात्रामा निस्किएका छन्।
आज दस वटा शव यात्रामा निकालिएकोमा छ जनाको शव नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाडौं बाहिर लगिने भएको छ। बाँकी चारजनाको पशुपतिमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।
सरकारले आन्दोलनमा मृत्यु भएकालाई ‘शहीद’ घोषणा गर्दै राष्ट्रिय झण्डा ओढाई अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ। साथै, असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
जेन–जी आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। धेरैजसो गोली लागेर प्राण गुमाएका थिए भने कतिपयको शव आगोमा जलेको अवस्थामा भेटिएको थियो।



कागजपत्र |
