
एसएसबीले राष्ट्रपति पौडेल, ओली र प्रचण्डलाई सीमामै रोक्न निर्देशन दिएको भिडियो भाइरल
काठमाडौं– सामाजिक सञ्जाल टिकटकमा भारतको सशस्त्र सीमा बल (एसएसबी)का एक अधिकारीले नेपाली शीर्ष नेताहरूलाई सीमामै रोक्न निर्देशन दिइरहेको दाबी गरिएको भिडियो भाइरल भएको छ।
‘ठाउँ खबर’ नामक टिकटक एकाउन्टमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा एसएसबी अधिकारीले आफ्ना जवानलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सीमाबाटै रोक्न निर्देशन दिएको देखिन्छ।
भिडियोमा ती अधिकारीले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल र पुष्प कमल दाहाल आउने कोशिस गर्नेछन्। उनीहरुलाई चिन्नुपर्नेछ। उनीहरु नेपाली गाडी वा भारतीय गाडीमा पनि आउनसक्छन्। उनीहरुलाई चिन्नुहोला ।’
उनले नेपालको तर्फबाट आउने यात्रुलाई बिना परिचयपत्र सीमा पार गर्न नदिन पनि निर्देशन दिएको भिडियोमा देखिन्छ। त्यसपछि उनले ती नेताहरूका फोटोसमेत जवानहरूलाई देखाइरहेको दृश्य भिडियोमा कैद गरिएको छ।
तर, उक्त भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे खुलेको छैन। यस्तै, उक्त निर्देशन आधिकारिक हो वा होइन भन्ने विषयमा समेत कुनै पुष्टि भइसकेको छैन। यद्यपि भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि यसले व्यापक चर्चा पाएको छ।



कागजपत्र |
