
शपथ समारोहमा सभामुख घिमिरे अनुपस्थित, कारण यस्ताे
काठमाडौं – शीतलनिवासमा नयाँ मन्त्रीहरूको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे सहभागी भएनन्। सामान्य परिस्थितिमा सभामुखको अनिवार्य उपस्थिति रहने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष भने उपस्थित थिए।
संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार घिमिरे हाल अस्वस्थ छन्। “उहाँलाई दुई–तीन दिनदेखि ज्वरो र टाउको दुख्ने समस्या छ,” उनले भने, “सोमबार ठीक होलाजस्तो लागे पनि चिकित्सकले बेडरेस्ट गर्न सुझाव दिएकाले शपथ समारोहमा जान सक्नुभएन।”
अधिकारीका अनुसार घिमिरेलाई शीतलनिवासमा हुने कार्यक्रममा सहभागी हुन खबर गरिएको थियो। तर स्वास्थ्य कारणले उनी बाहिर निस्कन सकेनन्।
सभामुख मात्र होइन, उपसभामुख इन्द्रिरा रानामगर पनि कार्यक्रममा उपस्थित थिइनन्।
यद्यपि प्रतिनिधिसभा विघटन भइसकेको छ। तर, सभामुख र उपसभामुखको पद भने यथावत् रहने संवैधानिक व्यवस्था भएकाले नयाँ व्यक्ति मनोनयन नभएसम्म यी पद कायम रहनेछन्।



कागजपत्र |
