‘पार्टीभन्दा माथि नेतालाई राख्न थालिएपछि’ रित्तिँदै रास्वपा


काठमाडौं– राजनीतिक परिवर्तनको लहरमा नयाँ विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले तीव्र संगठनात्मक सङ्कटमा फसिरहेको छ। पछिल्लो उदाहरणका रूपमा नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी सह–महामन्त्री श्रेष्ठले यसअघि नै पद छोडिसकेकी थिइन्। सोमबार भने उनले पार्टी नै छाडेको औपचारिक घोषणा गर्दै कटाक्ष गरिन्– ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडेँ।’

श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई बुझाएको पत्रमा लेखेकी छन्, ‘रास्वपा निरन्तर गल्तीमाथि गल्ती गर्छ, तर कहिल्यै गल्ती स्वीकार गर्दैन। देशभन्दा माथि पार्टी, अनि पार्टीभन्दा माथि नेतालाई राख्ने प्रवृत्ति देखिँदै गएको दिनदेखि नै म आलोचक बनेकी थिएँ।’

विवादित रवि लामिछाने 

पार्टी सभापति रवि लामिछाने निरन्तर विवादमा पर्न थालेपछि असन्तुष्टि चुलिएको छ। सहकारी घोटालामा मुछिँदै जेल पुगेका लामिछाने जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट ‘मुक्त’ भएका घटनापछि झन् आलोचनाको घेरामा परे। समर्थकहरूले उनलाई कारागारबाट निकालेको आरोप लाग्दा लामिछानेले भने ‘प्रक्रिया पूरा गरेर मात्र बाहिर आएको हुँ’ भन्दै आत्मरक्षा गर्दै आएका छन्।

तर, कारागारबाट निस्केपछि जेनजी आन्दोलनकै विद्रोहीहरूले समेत उनलाई अस्वीकार गरेका थिए। उनीमाथि ‘भागेर निस्केको’ आरोप लागेपछि रास्वपाभित्र असन्तोष चर्किँदै गएको हो। यही कारण नेतृ श्रेष्ठले ‘पार्टीभन्दा माथि नेतालाई राख्न मिल्दैन’ भन्दै बाहिरिने निर्णय लिएकी हुन्।

स्थापनादेखि नै पलायनको लहर

श्रेष्ठभन्दा केही दिनअघि सुदूरपश्चिमका संस्थापक सभापति तथा पूर्वमहामन्त्री पारस बाहुनले पनि पार्टी छाडेका थिए। यसअघि बागमती प्रचारप्रसार समितिका उपप्रमुख भविलाल चापागाईंले फेसबुकमै स्टाटस लेख्दै रास्वपाबाट टाढा जाने घोषणा गरेका थिए। उनले लेखेका थिए– ‘तपाईं हामीले सोचेजस्तो रास्वपा छैन है हजुर।’

यस्तै, नेपाल प्रहरीका पूर्व डीआईजी र चर्चित अनुहार रमेश खरेलले पनि पार्टी परित्याग गरेका थिए। सहकारी प्रकरणमा मुछिएका रवि लामिछाने गृह मन्त्रालय सम्हाल्दा ‘स्वार्थको द्वन्द्व’ प्रष्ट देखिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। खरेलले उपचुनावमा रास्वपाबाट उम्मेदवारी दिएका थिए, तर पछि पार्टी छाड्दै सबैभन्दा चर्चित असन्तुष्ट नेताको छवि बनाएका थिए।

त्यसैगरी प्यूठान संयोजक सुमन सुवेदी, मकवानपुरका संस्थापक अध्यक्ष राजकुमार न्यौपाने, चितवन सभापति धर्मेन्द्र सापकोटा र रवि लामिछानेका सीईओ हेमन्त बराललगायत थुप्रै नेताहरू बाहिरिइसकेका छन्।

पार्टीभित्र महत्वपूर्ण भूमिकामा रहे पनि असन्तुष्टि बढेका कारण कतिपयले पद मात्रै छोडेका छन्। चर्चित बैंकर अनिल केशरी शाहले पार्टी त्याग नगरे पनि प्रशिक्षण विभागको जिम्मेवारी फिर्ता गरेका छन्। त्यस्तै केन्द्रीय सदस्य डा. अरनिको पाण्डेसहित धेरै व्यक्तिहरूले समेत पार्टी परित्याग गरिसकेका छन्।

एकातिर पार्टी नेतृत्वले रविको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको छ भने अर्कोतर्फ नेताहरू धमाधम पार्टी छाडिरहेका छन्। मिसन–८४ का नाममा देशभर अभियान चलाउँदै आएको रास्वपाको भविष्य यतिबेला गम्भीर प्रश्नचिह्नमा परेको छ।

 

प्रतिक्रिया