
‘नेपो बेबी’ अराजकतावादी तत्वहरूले चलाएको अभियान : महेश बस्नेत
काठमाडाैं- नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘जेन–जी नेपो बेबी’ अभियान पुनरुत्थानवादी र अराजकतावादी तत्वहरूले चलाएको आरोप लगाएका छन्। उनले भने, सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम गर्ने अभियान असफल भएपछि आफ्नो असफलता ढाकछोप गर्न यस्तो अफवाह फैलाइएको हो।
सरकारले फेसबुक लगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि ‘जेन–जी’ पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। यसै सन्दर्भमा टिकटकमा नेताहरूका छोराछोरीको जीवनशैलीलाई ‘नेपो बेबी’ भन्दै आलोचना भइरहेका बेला बस्नेतले आफ्नो स्पष्ट प्रतिक्रिया दिएका छन्।
आफ्नो छोरीको विवाह जस्ता पवित्र पारिवारिक क्षणलाई गलत प्रचार गरिएको भन्दै बस्नेतले फेसबुकमा लेखेका छन्, “मेरो छोरी, ज्वाइँ वा परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। प्रमाण छ भने चुनौती दिन्छु।”
उनले आफ्नो परिवारको सम्पत्ति र जीवनशैली पूर्ण पारदर्शी रहेको उल्लेख गर्दै जुनसुकै स्थानमा यसको पुष्टि गर्न तयार रहेको बताए। “मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने गतिविधि आपराधिक प्रकृतिका हुन्,” बस्नेतले भने।
नेता बस्नेतले रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्नो व्यक्तिगत झगडामा उनको नाम जोड्ने प्रयास गरेको भर्त्सना गरे। साथै टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम बन्नबाट रोक्न सरकारसँग माग गरेका छन्।



कागजपत्र |
