भारतमा नेपाली नागरिकलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलायाे गोली


कैलाली- भारतमा नेपाली नागरिकलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली प्रहार गर्दा ती युवक घाइते भएका छन्। गोली उनको खुट्टामा लागेको थियो र उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ।

घाइते नेपाली नागरिक कैलालीका ३५ वर्षीय जगत बहादुर हुन्। भारतीय सुरक्षाकर्मीको गोली गुरुग्राम क्राइम ब्रान्चको टोलीले उनलाई नियन्त्रणमा लिँदै गर्दा लागेको हो।

सुरक्षा निकायका अनुसार, सेक्टर–४३ क्राइम ब्रान्चलाई वजीरावादस्थित ताउ देवीलाल पार्कमा जगत बहादुरले कुनै ठुलो आपराधिक गतिविधि गर्न लागेको सूचना प्राप्त भएको थियो। टोली उक्त स्थानमा पुग्दा उनलाई नियन्त्रणमा लिन खोज्दा जगत बहादुरले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए। जबाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली उनको खुट्टामा लागेको हो। गोली लागेपछि उनलाई नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, जगत बहादुरले फेसबुकमा नक्कली अकाउन्ट खोलेर भारतमा घरेलु कामदारका रूपमा रहेका नेपालीसँग सम्पर्क गरी उनीहरूसँग मिलेर घरका मालिक तथा परिवारका सदस्यलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई नगद र गरगहना चोरी गर्ने गरेको आरोप छ।

उनीविरुद्ध भारतमा विभिन्न आपराधिक उजुरी दर्ता भएका छन् भने नेपालमा पनि चोरीका सामान बेच्ने आरोपमा पक्राउ परेर छुटेको तथ्य छ। घटनास्थलबाट पेस्तोल, कारतुस, फलाम काट्ने कटरसहितका सामग्री बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया