गृह मन्त्रालयकाे अनुमति बिना एसिड तथा घातक रासायनीक पदार्थ खरिद–बिक्रीमा राेक


काठमाडौँ- सरकारले एसिड खरिद–विक्रीमा कडाइ गरेको छ । अब एसिड(तेजाब) तथा अन्य घातक रासायनीक पदार्थ किन्न सरकारको स्वीकृति लिनुपर्ने भएको छ । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको हो ।

एसिड खरिद गर्न चाहने उद्योगी–व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनु पर्नेछ । मन्त्रालयले आइतबार जरुरी सूचना जारी गरी एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो ।

कानुन बमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि जो कोहीले सजिलै एसिड खरिद–बिक्री गर्न सक्थे । जसले गर्दा महिलालाई एसिड आक्रमण हुने क्रम बढेको भन्दै सरकारले गत असोज १२ गते एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरी सोहीबमोजिम एक हप्ताअघि नियमावली बनाएको हो ।

प्रतिक्रिया