राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध


काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छिन् । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको उम्मेदवारी दर्ता प्रक्रियामा न्यौपानेकै मात्र नाम दर्ता भएपछि उनी सर्वसम्मत सभापति बन्ने निश्चित भएको हो । यद्यपि औपचारिक घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमार्फत हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ ।

यसअघि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले कुलिङ पिरियड’ विवादका कारण राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा नयाँ सभापति चयन प्रक्रिया अघि बढाइएको थियो । उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा स्वयं रहे भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए ।

न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापतिमा कार्यरत थिइन् । तर कांग्रेसले उनलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेपछि उनले मंगलबारै सभामुखसमक्ष राजीनामा दिँदै सो पदमा उम्मेदवारी दिएकी थिइन् ।

प्रतिक्रिया