वीरगञ्जमा हैजा–झाडापखाला नियन्त्रणतर्फ, १७८ बिरामी डिस्चार्ज


वीरगञ्ज- वीरगञ्जमा केही दिनयता देखिएको झाडापखाला र हैजाको प्रकोप क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार साँझसम्म कुल १७८ जना बिरामी उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।

केवल सोमबारमै ५४ जना बिरामी निको भएका छन् । तीमध्ये केही हैजा पुष्टि भएका बिरामीसमेत रहेको महानगरले जनाएको छ । गत शुक्रबारदेखि सोमबारसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ३४४ जना बिरामी भर्ना भएका थिए । तीमध्ये १६६ जना अझै उपचाररत छन् ।

महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालबाट ५७, तराई हस्पिटलबाट ५७, नेसनल मेडिकल कलेजबाट ३५, प्रभु हस्पिटलबाट १०, नेपाल इण्डो हस्पिटलबाट ९ र सर्वोत्तम हस्पिटलबाट ३ जना बिरामी डिस्चार्ज भएका छन् ।

आइतबारसम्म २९ जनामा हैजा पुष्टि भए पनि सोमबारसम्म यो संख्या घटेर २२ मा झरेको छ । हालसम्म वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि भएको छ । ‘

प्रकोप सुरुको दिन ह्वात्तै बिरामी बढ्दा नारायणी अस्पतालमा केहीलाई भुइँमा राखेर उपचार गर्नुपरेको थियो । हाल भने हैजा र झाडापखालाका लागि छुट्टै वार्ड बनाई उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

यता, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले अवस्था भयावह नभएको र नियन्त्रणका लागि युद्धस्तरमा काम भइरहेको बताएका छन् ।

यसैबीच, प्रकोप खानेपानीबाट फैलिएको भन्ने हल्ला निराधार भएको अधिकारीहरूले स्पष्ट पारेका छन् । खानेपानी मन्त्रालयअन्तर्गतको जनकपुरस्थित पानी गुणस्तर परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल खानेपानी संस्थान र डीप बोरिङको पानीमा हैजा फैलाउने इकोलिफर्म वा फिकल कोलिफर्म जीवाणु नभेटिएको पर्सा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

शनिबार संकलन गरिएका १२ नमूनामध्ये कुनैमा पनि जीवाणु नभेटिएको भए पनि काठमाडौंस्थित टेकु प्रयोगशालाबाट थप रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया