मेलबर्न रेनेगेड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, सन्दीप, रोहित र आशिफ शेख टिम बाहिर


काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी(२० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौ खेलमा टस जित्दै ब्याटिङ गर्ने भएको छ । केही बेरपछि सुरु हुने मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेलमा सन्दीप लामिछाने, रोहित पौडेल र आशिफ शेख टिमबाट बाहिरिएका छन् । हिजो टिममा नपरेका दिपेन्द्र सिं ऐरीले आजको नेपालको कप्तानी गर्नेछन् ।

नेपालले हालसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीन हार र एक जित निकालेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।

११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ। तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ।

अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ। नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया