
इजरायली आक्रमणमा १८ हजार ८८५ बालबालिकाले गुमाए ज्यान
काठमाडाैं – दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ।
६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी गरिएको छ। लगातारको बमबारीले घर ध्वस्त भएपछि संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको छ।
यसैबीच गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावमा हमास समूह सहमत भएको छ। गाजा कब्जा गर्ने गरी इजरायलले ठूलो कारबाहीको तयारी गरिरहँदा युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव हमासले स्वीकार गरेको हो। प्रस्तावअनुसार, हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी कुल २८ बन्धक रिहा गर्नेछ। यसको बदलामा इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका १४० जना, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना, र मुद्दा नचलाइएका सबै प्यालेस्टाइनी नाबालिग तथा महिला कैदीलाई रिहा गर्नुपर्नेछ।
तर इजरायले भने सबै बन्धकको एकैसाथ रिहाइ खोजिरहेको छ। हमाससँग ५० जना बन्धक छन्। ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको इजरायलको अनुमान छ।
इजरायलको यो अडानसँगै हमासले ६० दिने युद्धविराम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयले अन्योल उत्पन्न भएको छ।



कागजपत्र |
