
राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको मृत्यु
अछाम – राष्ट्रिय परिचयपत्र बनाउन आएका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामी कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा मंगलबार बिहान पुगेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई स्थानीयले हतारमा नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र पुर्याए तर चिकित्सकले दिउँसो १२:३५ बजे मृत घोषणा गरेका थिए ।
घटना कमलबजार नगरपालिका–२, कालापोखरा नजिकैको नगरपालिकाको ग्राउन्डतिर जाँदै गर्दा भएको स्थानीयले बताएका छन् । टाढा घर भएका कारण बाँकी प्रक्रिया आफन्त आएपछि मात्र सुरु हुने अछाम प्रहरीले जनाएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका र आर्थिक–शारीरिक रूपमा कमजोर नागरिकलाई ठूलो सास्ती खेप्नु परेको छ । सडक अभाव, लामो दूरी र सहारा नपाउँदा बाध्यतामा परेको स्थानीयहरूको गुनासो छ ।



कागजपत्र |
