
भण्डारीको कार्यक्रममा नजान एमाले संस्थापन पक्षको निर्देशन
काठमाडौं- नेकपा (एमाले)को संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको विराटनगर कार्यक्रममा नजान पार्टी कार्यकर्ता र नेतालाई निर्देशन दिएको छ।
एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यकर्ता भेलाको कार्यक्रम हुने भन्दै झुटो प्रचार भइरहेको भन्दै स्पष्ट पारेका छन्। उनले भनेका छन्, “जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन। सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमीलाई झूटो प्रचारप्रसारमा नझुक्किन अनुरोध गर्दछु।”
पूर्वराष्ट्रपति भण्डारी विगत केही दिनदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी छन्। हिजो भण्डारी विराटनगर उत्रँदा पनि यसअघि स्वागतमा देखिने एमाले नेताहरू उपस्थित भएनन्। यसअघि पूर्वमुख्यमन्त्री एवं कोशी इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्रीहरू विमानस्थल पुगेका थिए।
भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी उपस्थित थिए। भण्डारी आजै काठमाडौं फर्कँदैछिन्।



कागजपत्र |
