बाढी–पहिरोले देशभर १२ सडक पूर्ण अवरुद्ध


काठमाडौं- निरन्तरको मनसुन वर्षासँगै आएको बाढी–पहिरोले देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १४१ स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो गएपछि कर्णाली करिडोरअन्तर्गत खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक अबरुद्ध भएको छ भने दैलेखको डुल्लु नगरपालिकास्थित बागडुल्लमा गएको पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि ठप्प छ ।

रोल्पाको पुतलाचौर र ग्राम्जिममा पहिरो गएकाले शहीदमार्ग १४ दिनदेखि अवरुद्ध छ । त्यस्तै पश्चिम रुकुमको चौखा खोला रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा पहिरो गएपछि भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि बन्द छ ।

सिन्धुपाल्चोकको कोदारीमा पहिरो गएपछि अरनिको राजमार्ग १६ दिनदेखि अवरुद्ध छ भने रसुवागढी–स्याफ्रुबेंसी सडक तीन सातादेखि सञ्चालनमा आउन सकेको छैन । मितेरी पुल बाढीले बगाएको डेढ महिना भए पनि बेलिब्रिज जडान हुन सकेको छैन ।

पूर्वतिर पनि अवस्था उस्तै छ । तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा बन्द छ भने ताप्लेजुङको फक्ताङ्लुङ–५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा यातायात रोकिएको छ । संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि कोशी राजमार्ग पनि एक महिनादेखि अबरुद्ध छ ।

विभागका अनुसार अवरुद्ध सडक खोल्न आवश्यक उपकरण र जनशक्ति परिचालन भइरहेको छ ।

प्रतिक्रिया