वरिष्ठ वन अधिकृत यादवविरुद्ध ७ लाख ३१ हजार घुस प्रकरणमा मुद्दा दायर


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वरिष्ठ वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यादवविरुद्ध सेवाग्राहीले घुस मागेको उजुरी दिएका थिए। उजुरी अनुसार, यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगद्दी गरिएको काठको बिमार्का र छोडपूर्जी उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए।

उक्त उजुरीको आधारमा भएको अनुसन्धानमा यादवले सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

केही समयअघि नै अख्तियारको टोलीले यादवलाई सेवाग्राहीबाट सोही रकम घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी सहित आरोपपत्र दायर गरिएको आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया