
अवैध मदिरा काण्डपछि कुवेतमा ६७ जना पक्राउ, नेपाली पनि संलग्न
काठमाडौं- कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ नेपालीको ज्यान गएपछि नेपाली समुदायमाथि थप निगरानी बढेको छ। पछिल्लो घटनाले त्यहाँ कार्यरत १ लाख ६० हजारभन्दा बढी नेपालीको छविमा नकारात्मक असर पारेको भन्दै चिन्ता बढेको छ।
गत साता ‘मेथानोल’ मिसाइएको अवैध मदिरा सेवनपछि २३ जना आप्रवासी कामदारको ज्यान गएको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १२ जना नेपाली रहेका छन् भने ३० भन्दा बढी नेपाली अस्पतालमा उपचाररत छन्।
कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री कानुनतः प्रतिबन्धित भए पनि पछिल्लो घटनाले नेपालीसहितका आप्रवासीहरू यसमा संलग्न भएको देखाएको छ। कुवेती गृह मन्त्रालयले देशव्यापी सुरक्षा अभियान चलाउँदै अवैध मदिरा उत्पादन तथा बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ, जसमा नेपाली नागरिक पनि छन्।
साल्मिया क्षेत्रमा एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेपछि थप केही नेपाली पक्राउ परेका छन्। साथै भारतीय र एक बंगलादेशी समेत पक्राउ परेका छन्। पक्राउ परेकामध्ये मुख्य अभियुक्तहरूमाथि ‘हत्या’ सम्मको अभियोग लाग्ने कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसै क्रममा कुवेती सुरक्षाबलले आवासीय तथा औद्योगिक क्षेत्रमा सञ्चालन भइरहेका ६ वटा अवैध मदिरा कारखाना बन्द गरेको छ। साथै, आवासीय अनुमति सकिएका, भिसा ओभरस्टे गरेका र कानुनी उल्लङ्घनमा संलग्न २५८ आप्रवासीलाई समेत पक्राउ गरिएको छ।
उपचाररत सबैलाई डिस्चार्जपछि पक्राउ गरी देशनिकाला गर्ने तयारी भइरहेको कुवेती अधिकारीहरूले बताएका छन्। कानुनअनुसार, कुवेतमा मदिरा सेवन प्रमाणित हुने आप्रवासीलाई तुरुन्तै डिपोर्ट गरी पुनः प्रवेशमा प्रतिबन्ध लगाइन्छ।
यो घटनापछि नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएन) ले आप्रवासी नेपालीलाई गैरकानुनी गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्। दूतावासका तथ्याङ्कअनुसार, हाल कुवेतका जेलमा रहेका नेपालीमध्ये आधाभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मुद्दामा परेका छन्।



कागजपत्र |
