फर्जी कागजात र दलालविरुद्ध विभागको शून्य सहनशीलता नीति


काठमाडौं- अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि सम्बन्धित सात पक्षलाई जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ। आइतवार आयोजित पत्रकार सम्मेलनमा विभागले अध्यागमन प्रक्रियामा अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति कायम रहेको जानकारी दिएको हो।

महानिर्देशक रामचन्द्र तिवारीले यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह, सञ्चार माध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थालाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे।

तिवारीले अब कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान रोक्ने अधिकार नहुने बताए। तर, नक्कली वा फर्जी कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानुनी कारबाही गरिने चेतावनी पनि दिए।

यात्रुहरूले वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा बस्ने प्रमाण, डलर सटही तथा अन्य आवश्यक कागजात अनिवार्य लिएर यात्रा गर्नुपर्ने उनले बताए। साथै, अवैध बाटोबाट विदेश जान वा दलालको प्रलोभनमा पर्ने यात्रुहरूलाई तुरुन्तै विभाग, प्रहरी वा अख्तियारमा जानकारी दिन अपील गरे।

वायुसेवा कम्पनीलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगाडि यात्रुहरुलाई अध्यागमनको ‘स्टेरेलाइज्ड एरिया’ मा पठाउन, ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा लिखित जवाफ दिन निर्देशन दिइएको छ।

स्थानीय तह र जिल्ला प्रशासनलाई दलाल–बिचौलियाबाट नागरिकलाई सचेत गराउन र निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ। सञ्चार माध्यमलाई पनि वैदेशिक यात्रा सम्बन्धी झूट, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवार सूचना फैलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया