
काश्मिर बाढीमा ६० जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
काठमाडौं – काश्मिरमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।
काश्मिरको किश्तवार जिल्लाको हिमाली गाउँमा भारी वर्षापछि आएको बाढीले हिन्दू तीर्थयात्रीसहित दर्जनौँलाई बगाएको उद्धार टोलीले जनाएको छ। यो महिना भारतमा आएको यो वर्षकै दोस्रो ठूलो घातक बाढीजन्य प्रकोप भएको बताइएको छ।
अधिकारीहरूका अनुसार चिसोटी गाउँस्थित अस्थायी भान्साबाट १०० भन्दा बढी तीर्थयात्रीलाई बगाएको छ। काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले बाढीले पहाडबाट माटो, ठूला ढुङ्गा र भग्नावशेष बगाएर ठूलो क्षति पुर्याएको बताए।
उद्धारका लागि आवश्यक मेसिन तथा सैनिकहरू कठोर मौसम र दुर्गम भूभागको सामना गर्दै घाइतेहरूको उद्धारमा संलग्न रहेका छन्। विपद् व्यवस्थापनका शीर्ष अधिकारी मोहम्मद इर्शादका अनुसार ६० जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने करिब ५० जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ।
बेपत्ताहरूको खोजी तीव्र पारिएको जनाइएको छ। यसअघि ५ अगस्टमा भारतको उत्तराखण्डमा आएको बाढीजन्य प्रकोपबाट ७० भन्दा बढीको ज्यान गएको थियो।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान सङ्गठनले गत वर्षको तीव्र बाढी र खडेरीलाई जलवायु परिवर्तनको असर मान्दै जलचक्रमा आएको अवरोध ‘मौसमी सङ्कट’ वृद्धि भएको चेतावनी दिएको छ।
आँधीका कारण सडकहरू पहिल्यै क्षतिग्रस्त भएकाले यस क्षेत्रको मुख्य सहर श्रीनगरबाट सडकमार्फत २०० किलोमिटरभन्दा बढी भाग बाढीले क्षति पु-याएको जनाइएको छ।



कागजपत्र |
